मनाङ मस्र्याङ्दीको लगातार दोस्रो जित

मनाङ मस्र्याङ्दी क्लबले लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । दशरथ रङ्गशाला मैदानमा आज भएको सो प्रतियोगितामा मनाङ मस्र्याङ्दीले लुम्बिनी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।
मनाङले यसअघि भएको पहिलो खेलमा सुदूपश्चिमाञ्चल फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । जितसँगै मनाङ मस्र्याङ्दीले प्रतियोगितामा ६ अङ्क जोडेको छ । मनाङ मस्र्याङ्दीको जितमा सुजल श्रेष्ठले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै मनाङ मस्र्याङ्दीका लागि निर्णायक गोल सावित भयो ।
खेलको ५६औँ मिनेटमा विराज महर्जनको फ्रिकिक बललाई सदुपयोग गर्दै श्रेष्ठले गोल गरेका थिए । खेलको निर्धारित समयसम्म गोल फर्काउन निक्कै प्रयासरत रहे तापनि खेलको ५६औँ मिनेटमा जोगाउन नसक्दा लुम्बिनी प्रतियोगितामा हार व्यहोर्न बाध्य बन्यो । दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित हासिल गरेको छ । उसले यसअघि भएको पहिलो खेलमा नेपाल प्रहरी क्लबलाई पराजित गरेको थियो । लुम्बिनीको ३ अङ्क रहेको छ ।
खेलपछि मनाङ मस्र्याङ्दीका प्रशिक्षक राजुकाजी शाक्यले आफ्ना खेलाडीले सोचे अनुरुपको खेल प्रदर्शन गर्न नसकेको बताउनुभयो । त्यस्तै, लुम्बिनीका प्रशिक्षक यमप्रसाद गुरुङले प्रतियोगिता तयारीको समय कम भएको बताउँदै टिम सेटिङ गरेर आगामी खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो ।