कञ्चनपुरको पुर्नवास पुगेर प्रचण्डले भने –‘साधुलाई सुली हैन, सम्मान गरौँ’

कञ्चनपुर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेका कामकारवाहीले नेपाल र नेपालीको शिर ठाडो भएको बताएका छन् । शुक्रबार कञ्चनपुरको पुर्नवासमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै कार्यकालमा मधेस पहाड र हिमाल जोड्ने काम समेत भएको बताए । उनले लोडसेडिङ मुक्त गर्नु, आर्थिक बृद्धिदर बढाउन सफल हुनु, फास्ट ट्रयाक निर्माण नेपाली आफैले गर्ने जस्तामहत्वपुर्ण निर्णय गर्नु र चीनसँग वान बेल्ट वान रोड नीतिमा हस्ताक्षर गर्नु ऐतिहासिक सफलता भएको बताए ।

सम्बोधनका क्रममा प्रचण्डले भने ‘ म प्रधानमन्त्री हुदै गर्दा प्रतिपक्ष दल एमालेले आफुमाथि धेरै आरोप लगाएपनि कालान्तरमा आफ्ना काम देखेर उसले समेत चुनाव नसकि नजानुस् भन्ने अवस्था आयो । विरोधीले नै राजनेता भेटियो भन्ने अवस्था आयो ।’

इमान्दार र बफादार भएर काम गर्ने देशको विकास गर्न सम्भव भएको आफ्नो अनुभवले देखाएको प्रचण्डको भनाई थियो ।

पुर्व प्रधानमन्त्री प्रचण्डले पुर्नवासका जनतालाई भने ‘साधुलाई सुली हैन सम्मान गर्नुपर्छ, चोरलाई मात्र सजाय दिनुपर्छ ।’ सधै न्यायाधीशको भुमिकामा जनता रहने भन्दै प्रचण्डले सिंहदरवारको अधिकार जनताको घरदैलोमा पुर्याउन आफ्नोतर्फबाट भएको प्रयासलाई जनताले सकारात्मक रुपमा लिएको बताए ।