तिनाउमा सुख्खा पहिरोमा पुरिएर एक पुरुष वेपत्ता

बुटवल । पाल्पाको तिनाउ-१ कचलमा सुख्खा पहिरोले पुरिएर एक पुरुष मगंलबारदेखि बेपत्ता भएका छन् ।

कचलफाँट सिँचाई आयोजनाको नहरमा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षका डिलबहादुर हिस्की वेपत्ता भएका हुन् ।

नहरमाथिबाट एक्कासी खसेको सुख्खा पहिरोमा पुरिएर मँगलबार दिउँसोदेखि वेपत्ता भएका उनको खोजी कार्य जारी रहेको तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

डिलबहादुरसँगै गएका अन्य व्यक्तिहरुले भागेर ज्यान बचाउन सफल भएका छन् । घटना स्थलमा स्थानीय तथा नेपाल प्रहरीको टोलीले आज विहानैदेखि खोजीकार्य जारी राखेका छन् ।

कचल फाँट सिँचाई आयोजना अन्तरगत नहर खन्ने क्रममा सोही ठाउँमा गत वर्ष जेसीबी पुरिएको थियो । करिब १ वर्ष लगाएर पुरिएको जेसीबी निकालिएको स्थानीय सावित्रा रानाले जानकारी दिइन् ।