नेपालमा कोरोनाको चौथो लहरको जोखिम बढ्यो

काठमाण्डौ । कोरोना सङ्क्रमण दर बढेसँगै चीनका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ भने भारतको राजधानी दिल्ली, उत्तर प्रदेश लगायत राज्यमा सतर्कता अपनाउन थालिएको छ ।

भारतसँगको खुला सीमाना र दुई देशका नागरिकको सजिलै हुने आहोरदोहोरका कारण कोरोना सङ्क्रमण बढ्नु र घट्नुमा भारतको अवस्था निर्णायक हुने गरेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका सङ्क्रामक रोग विशेषज्ञ डा.निरज बमका अनुसार भारतमा सङ्क्रमण बढ्नुले नेपालमा जोखिम हुनुको प्रमुख कारण खुला सीमानाका हो ।

उनले नेपालमा पनि कोरोनासँग सम्बन्धित सबै प्रतिबन्ध फुकुवा भइसकेको र स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जोखिम बढ्न सक्ने बताए । कोरोनाको उत्परिवर्तित पछिल्लो स्वरुपलाई विश्वस्वास्थ्य सङ्गठनले ‘एक्स ई’ नामाकरण गरेको छ । जुन ४ महिनाअघि बेलायतमा फेला परेको थियो र हालसम्मकै सबैभन्दा बढी सङ्क्रामक हुन सक्छ ।

झन्डै डेढ महिनादेखि नेपालमा कोरोनाका कारण हुने मृत्युदर शून्य छ भने नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या पनि १ देखि २ अङ्कमा सिमित छ । कोरोनाको चौथो लहर फैलिनसक्ने जोखिम आएमा सरकार भने तयारी अवस्थामा रहेको दाबी गर्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. चुमन लाल दासले कोरोनाको तीन चरणको लहरमा सिकेका सिप र अभ्यासले चौथो लहर आइहाले लड्नका लागि तयारी अवस्थामा रहेको बताए । उनले कोरोना विशेष अस्पताल, अस्पताल, सीमानाकामा सरकारको निगरानी रहेको हुँदा चौथो लहरको जोखिमबाट लड्न तयार रहेको उल्लेख गरे ।

‘एक्स ई’ नामक कोरोनाको स्वरुपको कस्तो लक्षण देखा पर्छ र त्यसले मानिसलाई कतिसम्म असर गर्छ भन्ने निश्चित भइसकेको छैन । तर विशेषगरी भारतमा बढेको सङ्क्रमण, सीमा नाकामा नभएको चुस्त जाँच र स्वास्थ्य मापदण्डको पालनामा कडाइ नगरिँदा नेपालमा कोरोना कुन बेला बढ्छ ? यसै भन्न सकिने अवस्था छैन । कोरोनाविरुद्धको खोप अभियान सुस्त हुँदा पनि थप जोखिम बढाएको छ ।