काठमाडौं– नेकपा एमालेले असार १४ को स्थानीय निर्वाचनलाई प्रभावित पार्न सत्ता पक्ष र सरकारले नै तिक्डमबाजीमा लागेको आरोप लगाएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै कपिलबस्तुमा भएको बम विष्फोट र एमाले कार्यकर्तामाथिको आक्रमण, ज्यान लिने धम्की जस्ता घटनाप्रति एमालेको गम्भिर ध्यानाकर्षाण भएको उल्लेख छ ।
एमालेले निर्वाचनलाई प्रभावित पार्न सरकारी पक्षले सत्ता, साधन र स्रोतको व्यापक दुरुपयोग गरेको समेत दावी गरेको छ ।
एमालेले गत असार ४ गते बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने क्रममा एमालेको जुलुसमाथि आक्रमण गरेर सत्ताधारी नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेको भन्दै घटनामा संलग्न अपराधीहरुविरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्तासमेत गर्न नदिएको जनाएको छ ।
त्यस्तै बाँकेकमा एमालेले आमसभा गरिरहेको बेला अर्को सत्ताधारी दल माओवादी केन्द्रका कार्यकर्ताले नजिकै गएर माइकिङ गर्ने र उत्तेजना फैलाउने काम गर्दै सभा विथोल्ने दुस्प्रयास गरेको जनाएको छ ।
सोलुखुम्बुको नेचा–सल्यानटार गाउँपालिकामा नेपाली कांग्रेसका सांसदकै उपस्थितिमा एमाले कार्यकर्तामाथि हातपात गरिएको र दार्चुलामा सत्तापक्षका कार्यकर्ताबाट एमाले कार्यकर्तामाथि आक्रमण गरिएको जनाएको छ ।
एमालेले निर्वाचनलाई व्यवस्थित, स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले ठाडै उल्लंघन गरिरहेको जनाएको छ । यक्रममा गृहमन्त्री जनार्दन शर्माले सरकारी साधन–स्रोत दुरुपयोग गरी बाँके, कैलालीलगायतका जिल्लामा आफ्नो पार्टीका कार्यक्रममा गई निर्वाचनलाई प्रभावित पार्ने कोसिस गरेको भन्दै आपत्ति जनाएको छ ।
उसले अघिल्लो चरणको निर्वाचनमा सत्तापक्षबाट धाँधली र ज्यादती भएको स्वीकार गर्दै व्यवस्थापिका–संसद्बाट संसदीय छानबिन समिति गठन हुँदा समेत यसपटक सत्तापक्षले आफ्नो पुरानौ रवैया जारी राख्नु अत्यन्त खेदजनक भएको जनाएको छ । साथै, निर्वाचन आचारसंहिता ठाडै उल्लंघन हुँदा निर्वाचन आयोगसमेत मौन बसेकोप्रति एमालेले आश्चर्य प्रकट गरेको छ ।
एमालेले सत्तापक्षबाट निर्वाचनलाई प्रभावित पार्न भएका ज्यादतीको घोरविरोध गर्दै त्यस्ता हर्कत अविलम्ब बन्द गरी शान्तिपूर्ण र धाँधलीरहित रुपमा निर्वाचन गर्ने वातावरण तयार गर्न माग पनि गरेको छ ।






