उपेन्द्र यादवले पैसा खाएको राजपा नेता सुमनको आरोप, प्रमाण सुरक्षित रहेको दावी

काठमाडौं – राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा गएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौमा भएको साक्षत्कारमा नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् । उनले भने,‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेशी जनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्यो भने देखाउन सक्छु ।’ नेता सुमनले निर्वाचनलाई आफूहरुले सशक्त बहिष्कार गर्ने रणनीति लिएको पनि दोहोर्याए ।

नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दापनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने,‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नको लागि जबरजस्ती ठप्पा लगाउने काम मात्रै हो।’ उनले पटक पटक आफूहरु निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे ।
उनले संविधान बलजफ्ती जारी गरेको र जारी गरेकै दिनदेखि आफूहरुले त्यसको विरोध गरेको जनाउँदै आफ्ना मागहरु संविधानमा लिखत रुपमा स्थापित गर्नको लागि अहिले माग्नेहरुको नाम महन्थ ठाकुर र राजेन्द्र महतो रहेको स्पष्ट पारे ।

असार १४ गते हुने निर्वाचनको दिन आफूहरु भजन, कृतन गरेर नबस्ने समेत सुमनले जानकारी दिए । उनले भने,‘निर्वाचन भैरहँदा हामी कृतन गरेर बस्दैनौं, हामी विथोल्छौं।’ सुमनले निर्वाचनको दिन आफूहरुले एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रको विरोधमा जति प्रर्दशन गर्ने हो त्यतिकै मात्रामा फोरम नेपाल र लोकतान्त्रिक फोरमको विरुद्धमा विरोध गर्ने बताए । कार्यक्रममा प्रमुख दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५५ देखि ५६ प्रतिशत स्थानमा विजयी हाँसिल गर्ने दाबी गरे ।