कोलम्बियाकी सुन्दरी पाउलिना वेगाले आइतबार राती मिस युनिभर्सको ताज पहिरेकी छिन् । मिस अमेरिक निया स्यान्सेज प्रतिस्पर्धाकी पहिलो उपविजेता भएकी छिन् भने युक्रेनकी सुन्दरी डियाना हरकुशा दोस्रो उपबिजेता बन्न सफल भएकी छिन् ।
पाउलिनाले ८७ देशहरुका सुन्दरीहरुलाई पछि पार्दै मिस युनिभर्सको ताजमाथि आफ्नो कब्जा जमाउन सफल भएकी हुन् । सन् २०१३ की मिस युनिभर्स भेनेजुएलाकी गेब्रिएला इस्लरले फ्लोरिडाको मायामीमा आयोजित प्रतिस्पर्धामा आफ्नी उत्तराधिकारी पाउलिनालाई ताज पहिराएकी थिइन् । यस वर्षको मिस युनिभर्सको प्रतिस्पर्धा यसको ताजका कारण विशेष बनेको थियो । यो वर्षको ताज नयाँ थियो जसलाई डाइमण्ड इन्टरनेशनल कर्पोरेसन (डीआइसी) ले तयार गरेको थियो ।
२२ वर्षीय भेगाले आफूले यस्तो प्रतिस्पर्धामा पहिलो पटक भाग लिएको भन्दै यो नै उनको अन्तिम हुने घोषणासमेत गरेकी छिन् । उनी भन्छिन्, ‘म मेरो बिजनेश एड्मिनिष्ट्रेसनको पढाई पुरा गर्न आतुर छु ।’
उनी भन्छिन्, ‘आजकी महिलालाई प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हुनेछ । म त्यस्ता महिलाहरुको प्रतिनिधित्व गर्न चाहन्छु जो राम्री र आकर्षक बन्न मात्र नभई व्यवसायीक, बौद्धिक र कडा मेहनतका साथ सफल हुने गर्दछन् ।’










