लन्डन । लन्डनस्थित नेपाली दूतावासमा सोमबार दशौं गणतन्त्र दिवस मनाइएको छ । सयौं नेपाली तथा विदेशी सहभागी उक्त कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा गणतन्त्रको अभ्युदय र नागरिक हक अधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्ने प्रातः स्मरणीय शहीदहरुमा श्रद्धान्जली अर्पण गर्दै गणतन्त्र दिवसले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वको महान गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे । राजदूत सुवेदीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको सन्देश पनि सुनाएका थिए । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउंदै आएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले युवाहरुकालागि नेपाली दूतावासको ढोका सँधै खुला रहने बताउदै गणतन्त्र दिवसमा दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतमा शिक्षा, व्यापार व्यवसाय, कला, संगीत, पर्यटन, चिकित्सा, इन्जिनियरिङ र पत्रकारिता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेका सफल १० व्यक्तित्वलाई सम्मान गरिएको छ।
सम्मानित हुने हरुमा:
ब्लाइन्ड रक्सकी श्रृष्टि केसी, नर्स प्रसुना कंडेल, पत्रकार भगिरथ योगी, इन्जिनियर राजकुमार त्रिपाठी, दन्त चिकित्सक डा. कपिल रिजाल, व्यवसासीहरु बिराज भट्ट, ओजेश सिंह, नायक ध्रुव दत्त, विद्यार्थी अभियन्ता प्रणय शाक्य, अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका गोर्खा हरिबहादुर बुढामगर, मिस यूके नेपाल २०१६ टेनिसा राना थिए । यसपटक दूतावासले युवाहरुलाई विशेष प्लेटफार्म दिंदै गणतन्त्र दिवस मनाउने नयां शैली अपनाएको हो ।
उक्त अवसरमा राजदूत डा. सुवेदीले दूतावासको नयां परिमार्जित वेवसाइटसहित तथ्यांक राख्ने अनलाइन रजिष्ट्रेशन प्रणालीको उद्घाटन गरे । उक्त वेवसाइटबाट बेलायत, माल्टा र आयरल्याण्ड बस्ने नेपाली एवं संघसंस्थाको तथ्यांक संकलन गर्ने व्यवस्था मिलाइएको छ ।
समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले व्यक्तिगत विवरण र एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ एवं नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार नवीन पोखरेलले संस्थागत विवरण भरेर यसको शुरुवात गरेका थिए । साथै कार्यक्रममा राजदूत डा. सुवेदीले रोबर्ट फेर्गुसनद्वारा लिखित नेपाल सम्वन्धि हयाण्ड बुक ‘नेपाल’ विमोचन गरे । उक्त पुस्तक बेलायतको प्रसिद्ध प्रकाशन संस्था फुट प्रिन्टले प्रकाशन गरेको हो ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रमको अन्तिम खण्डमा नेपालबाट आएकी गायिका तथा नायिका विष्णु चेम्जोङ र चोक गुरुङले गायन प्रस्तुत गरेका थिए । बेलायतको रक्षा, परराष्ट्र मन्त्रालयका अधिकारीहरु, नेपाली संघ संस्थाका प्रतिनिधि, सञ्चाकर्मीलगायत ३ सयभन्दा बढीको उपस्थिति थियो ।








