काठमाडौ– राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबीच ३१ जेठको दोस्रो चरणको निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको छ । राजपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारबीच निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको हो ।
राजपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको पार्टी निर्वाचन आयोगमा दर्ता भएको तर, चिह्न नपाएकाले समस्या रहेको उल्लेख गरेलगत्तै तालमेलको प्रसंग उठेको थियो । ‘हामी चुनाव विरोधी होइनौं, तर आयोगमा न पार्टी दर्ता छ, न हामीले चुनाव चिह्न पाएका छौं अनि चुनावमा कसरी जाने ?’ ठाकुरको भनाइ थियो ।
छलफलमा फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा साझा उम्मेदवारी दिनका लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका छन् । यादवको प्रस्तावलाई ठाकुर र गच्छदारले सकारात्मक लिए पनि निर्णय भने भइसकेको छैन ।






