लण्डन । बेलायतकै इतिहासमा सबभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजाबेथ द्वितीया । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी । संयुक्त अधिराज्यबाहेक क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डसमेतकी राष्ट्राध्यक्ष एलिजाबेथ द्वितीयालाई बेलायतमा संविधानको संरक्षकका रूपमा लिइन्छ ।
बेलायती जनता र विश्वमाझ लोकप्रिय यी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा । द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रूपमा क्याप्टेन ललित गुरुङ (एमभीओ) र क्याप्टेन गणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् । बकिङहम प्यालेस होस् वा विभिन्न सहरमा महारानी सवारी हुने समारोह, महारानीको ‘गार्डिङ’ को मुख्य जिम्मेवारी हुन्छ ललित र गणेशलाई ।
‘सभा, समारोह र पार्टीमा महारानीसँगै हिँडेर सुरक्षा दिने, रानीको रेखदेख र काम पर्दा अगाडि उपस्थित हुने हाम्रो जिम्मेवारी छ,’ ललितले कान्तिपुरसँग भने, ‘महारानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ । रोचक के भने समारोहमा महारानीसँग हिँड्दा हामीबाहेक अरूलाई हातहतियार बोक्न निषेध छ ।’ उनीहरूले यो जिम्मेवारी पाएको ९ महिना भइसकेको छ । अब अगस्टसम्म बाँकी छ यस्तो दायित्व । हालसम्म उनीहरू महारानीका ३५ वटा औपचारिक कार्यक्रमसहित दरबारमा भएका गार्डेन पार्टी र प्यालेसबाहिर कैयौं कार्यक्रममा सरिक भइसके । ‘हाम्रा बाबुबाजेको विश्वासले गर्दा यस्तो जिम्मेवारी पाएका हौं, गर्व लाग्छ,’ ललित दंग हुँदै भन्छन्, ‘यस्तो जिम्मेवारी पाउनु चानचुने होइन । गोर्खा बटालियन अफिसरबाट बर्सेनि उत्कृष्ट दुई जना छान्दा हामी पर्यौं ।’
कास्कीको वारचोक गाउँबाट अहिले पोखरा माटेपानी बसाइँ सरेको छ ललितको परिवार । सन् १९९२ मा ब्रिटिस आर्मीमा भर्ती भएपछि ललित कोसोभो, बोस्निया, सियरालिओन र अफगास्तिान खटिइसके । अफगास्तिान युद्धमा मात्र तीनपटक खटिएको उनले बताए । वान आरजीआरका क्याप्टेन ललितले महारानीको कोहीप्रति चासो लिएर सोधखोज र ख्याल गर्ने बानी भएको बताए । गत मार्चमा महारानीले दरबारमा ललितलाई मेम्बर अफ दि रोयल भिक्टोरियन अर्डर (एमभीओ) पदक दिने बेला सर्भिसका लागि धन्यवाद दिँदै सोधेकी थिइन्, ‘नेपालमा कस्तो छ अहिले ? स्थानीय चुनाव के हुँदै छ ? अहिले ब्रुनाईमा रहेको वानआरजीआर यूके कहिले आउँछ ?’
बिहान साढे ६ बजेतिर उठेर ब्रेकफास्ट लिएपछि निजी चिकित्सक, नर्सले स्वास्थ्य जाँच गरेपछि अफिस बसेर नियमित काम गर्नुहुन्छ ।’ महारानी बकिङहम प्यालेसभन्दा विन्जर क्यासलमा बस्न मन पराउने उनले सुनाए । महारानीको समारोह नभएका बेला ब्रिगेड अफ गोर्खाज हेडक्वार्टर स्यान्डस्र्टमा कार्यरत हुन्छन् उनी । -Ekantipur






