अख्तियारको प्रमुख आयुक्तमा बस्न्यात र महालेखा परीक्षकमा शर्माको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यात र महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको नाम अनुमोदन गरेको छ ।

समितिको आईतबार बसेको बैठकले अख्तियार प्रमुखका लागि प्रस्तावित बस्न्यात र महालेखा परीक्षकका लागि प्रस्तावित शर्मा योग्य रहेको ठहर गर्दै दुवै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र अनुभव सबैमा योग्य देखिएकाले अख्तियार प्रमुखमा प्रस्तावित बस्न्यात र महालेखा परीक्षकमा प्रस्तावित शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।
संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा बस्न्यात र महालेखा परीक्षकमा शर्मालाई सिफारिस गरेको थियो ।

समितिको बैठकमा उपस्थित भएका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा प्रस्तावित बस्न्यात र महालेखा परीक्षकमा प्रस्तावित शर्माले आ– आफनो योग्यता र कार्य क्षमताका विषयमा जानकारी गराएका थिए ।
अख्तियारको प्रमुख आयुक्तमा प्रस्तावित बस्न्यातले अनुसन्धानको क्षेत्रलाई बलियो बनाउन आफूले राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवको आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसै गरी महालेखा परीक्षकमा प्रस्तावित शर्माले आफूले मुलुकको लेखा प्रणालीको क्षेत्रमा २७ वर्ष विताएको उल्लेख गर्दै त्यसै अनुभवलाई आधार बनाएर कार्यसम्पादन गर्ने बताए ।

बैठकमा समितिका सदस्यहरुले अख्तियार दुरुपयोग हुन नदिन र लेखा प्रणालीलाई व्यवस्थित बनाउने योजनाका बारेका बस्न्यात र शर्मासँग विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले विगतमा कर असुलीमा देखिएको समस्या समाधान गर्न विशेष ध्यान दिन पनि सुझाव दिएका थिए ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका अख्तियार प्रमुखका प्रस्तावित बस्न्यात र महालेखा परीक्षकमा प्रस्तावित शर्मालाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।