किर्तिपुर– किर्तिपुरकी ८६ वर्षीय बेखमाया मर्हजनलाई पछिल्लो भोट कहिले खसालेको भन्ने कुरा ठ्याक्कै याद छैन । तर, उनी २० पछि आइतबार भएको स्थानीय तहको निर्वाचनमा उत्साहपुर्वक मतदान गर्न नजिकैको मतदान केन्द्रमा पुगेर मत खसालिन ।
भनिन् ‘ मलाई पहिलो पटक मतदान कँहिले गरेँ त्यो त ठ्याक्कै थाह छैन, तर यसपटक लामो समयपछि मतदान गर्न पाएकोमा खुशी लागेको छ ।’ महर्जनजसतै धेरै बृद्धबृद्धा किर्तिपुर मतदान केन्द्रमा मतदान गर्न आएका थिए ।
आफन्तका साथमा मतदान केन्द्रमा पुगेर आफुलाई मन परेको उम्मेदवारलाई मत हाल्न पाएकोमा महर्जनले खुशी व्यक्त गरिन् । त्यसो त कुन पार्टी, के हो ? भन्ने कुरा पनि उनलाई थाहा छैन ।
भनिन् ‘मलाई पार्टी कस्तो छ भन्ने थाहा छैन तर हाम्रा लागि राम्रो हुन्छ भन्ने थाहा पाएकाले नातिनिसंग भोट हाल्न आएकी हुँ’ उनी भन्छिन्– ‘उमेर भैसक्यो हिँड्न डुल्न गाह्रो छ, तै पनि आगामी पुस्ताको लागी राम्रो हुन्छ भने भोट किन नखसाल्ने ?’
बेखमाया सँगै थुप्रैअन्य बृद्ध बृद्धाहरु पनि स्थानीय चुनावमा भोट हाल्न आएका थिए । सुरक्षाकर्मीले बृद्ध बृद्धालाई लाइनमा बस्न नपर्ने सुबिधा दिएकाले आफुहरुले सजिलै भोट खसालेको उनीहरुले बताए ।















