काठमाडौं– स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य जारी छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचलान केन्द्र (जेईओसी), निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, आयोगबाट खटिएका अनुगमनकर्ताले आयोगलाई दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनकरुपमा सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गरेका छन् ।
आयोगका आयुक्त इला शर्माले ललितपुर महानगरपालिकाको वडा नं. १० स्थित प्रसूति गृहको क्वाटरमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदाताको रुपमा मतदान गरेकी छन् ।
यसैगरी, आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिकाको धुम्बाराही माध्यमिक विद्यालयमा मतदान गरेका छन् ।
आयोगका सचिव गोपीनाथ मैनालीले शान्तिपूर्ण रुपमा, विना बाधा अवरोध सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको जानकारी दिएका छन् । आयोगलाई प्राप्त जानकारी अनुसार, गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १० चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेकी छन् ।
गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।






