काठमाडौं– निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको महाअभियोग प्रस्तावबारे पहिले नै थाहा पाएको बताएकी छन् ।
कार्कीले महाअभियोगको डटेर सामना गर्ने पनि प्रतिक्रिया दिइन् । सत्तागठबन्धन दल कांग्रेस–माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउने विषयमा दुई सातायता छलफल चलाएको प्रस्तावक कांग्रेस सांसद् मीनबहादुर विश्वकर्माले जानकारी दिए । तर, कांग्रेसमा हस्ताक्षर अभियान एक सातादेखि सुरु गरेको विश्वकर्माले बताए । उनका अनुसार दुवै पार्टीका शीर्ष नेताहरुले विश्वकर्मा र टेकबहादुर बस्नेतलाई जिम्मेवारी दिएका थिए ।
कांग्रेस सांसद् अर्जुनप्रसाद जोशीका अनुसार कार्कीविरुद्ध महाभियोग प्रस्ताव लगाउने विषयमा कांग्रेस र माओवादी दुवै पार्टीका शीर्ष नेृतृत्वबीच पटक पटक छलफल भएपछि आधार तयार भएको बताए ।






