
काठमाडौं , ११ माघ । संविधानसभामा दलहरुवीच ध्रुवीकरण बढ्दै जाँदा भारतीय चासो र चलखेल बढेको छ । शनिबार दलहरुले जबरजस्ती प्रक्रियामा गए संविधानसभा छाड्नेसम्मको चेतावनी दिएको थाहा पाएपछि नेपालका लागि भारतीय राजदूत रञ्जित रे केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
भारतीय राजदूतले एमाले अध्यक्ष ओलीसँग के बातचित गरे भन्ने खुलासा गरिएको छैन । तर, संविधानसभाको प्रक्रिया अवरुद्ध हुञ्जेल विपक्षीसँग वार्ता नै नगर्ने सत्तापक्षको निर्णय र विपक्षीको रणनीतिबारे भारतीय राजदूतले चासो राखेको एमाले स्रोत बताउँछ ।
भारतीय राजदुत रेले सहमतिका लागि केही दिन संविधानसभाको बैठक रोक्न सल्लाह दिएको स्रोत बताउँछ । तर, ओलीले कसैको दबाव नमान्ने र प्रक्रिया अघि बढाउने जवाफ दिएर राजदूतलाई फिर्ता पठाइएको ओली निकट स्रोतले बताएको छ ।
यसअघि नै भारत सरकारले सहमतिका आधारमा संविधान बनाउन सत्तापक्षलाई दबाव दिँदै आएको छ । एमाले अध्यक्ष ओलीले भने केही दिन अघि बालकोटमै आयोजित पत्रकार सम्मेलनमा नेपाली जनताबाहेक अरु कसैको आदेश नमान्ने बताएका थिए ।
भारतका साथै राष्ट्रसंघ लगायतका अन्तरराष्ट्रिय समुदायले पनि सहमतिका आधारमा संविधान बनाउन दबाव दिँदै आएका बेला भारतीय पक्षको सक्रियता देखिएको हो । अघिल्लो साता नेपाल आएका राष्ट्र संघका प्रतिनिधिले सहमतिका आधार।मा अघि बढ्न भनेपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभामै विदेशीको आलोचना गरेका थिए ।






