पाँचथर- सरकारी छाप दस्तखत कीर्ते मुद्दामा पक्राउ परेका डाक्टर तारा पोख्रेल धरौटीमा रिहा भएका छन् । विसं २०५२ देखि २०५६ सालसम्म पाँचथर अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेका डा पोख्रेललाई जिल्ला अदालत पाँचथरले रु २७ हजार धरौटी मागेर तारेखमा रिहा गरेको हो ।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनलाई २७ हजार रुपैयाँ धरौटी माग गरेको थियो । मागअनुसारको धरौटी दाखिला गरेर पोख्रेल तारेखमा रिहा भएका हुन् । २० वर्ष पहिले दर्ता भई मुल्तवीमा रहेको मुद्दालाई अनुसन्धान गर्न भन्दै पाँचथर प्रहरीले जिल्ला अस्पतालका तत्कालीन डाक्टर पोख्रेललाई गत शुक्रबार पक्राउ गरेको थियो । डाक्टर पोखरेलले यसअघि नेपाल सरकारको स्वास्थ मन्त्रालयअन्तर्गत स्वास्थ सेवा विभागको बालरोग महाशाखा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुखसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
पाँचथर अस्पताल प्रमुखको जिम्मेवारीमा रहँदा सरकारी छाप दस्तखत कीर्ते गरेको भन्दै औषधि व्यवसायी वसन्त पाण्डेले पोख्रेलविरुद्ध मुद्दा दर्ता गराएका थिए । डाक्टर पोख्रेल पाँचथर अस्पतालको प्रमुख हुनुपूर्व पाण्डेले अनिरुद्र सहकारीमार्फत अस्पताल परिसरभित्रै औषधि पसल सञ्चालन गर्दै आएका थिए । अस्पताल परिसरमा निजी पसल राख्न नपाइने आवाज उठेपछि पोखरेलले पाण्डेलाई पसल हटाउन भने पनि उनले अटेर गरेपछि अस्पताल विकास समितिको निर्णयबाट सो पसल बन्द गराइएको थियो ।






