पत्रकार महासंघ बेल्जियमको अध्यक्षमा ओम शर्मा निर्वाचित, कार्यसमितिमा अरु को–को आए ? (नामसहित)

बेल्जियम ।नेपाल पत्रकार महासंघ बेल्जियमको अध्यक्षमा ओम शर्मा निर्वाचित भएका छन् । पत्रकार महासंघ बेल्जियम शाखाले ओम शर्माको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो।
चारदिशा डटकमका प्रधान सम्पादक ओम शर्माको अध्यक्षतामा गठित नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा निलम घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा  सन्तोष न्यौपाने निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्य समितिलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले पद तथा गोपनियताको शपथ गराए । सो कार्यक्रममा केन्द्रिय सदस्य बराइलीले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता  गरिरहनु वास्तवमै  चुनौतीपूर्ण रहेको बताए । उनले सबैको हात हातमा स्मार्ट फोन रहेकाले मल्टीमिडियासंग परिचित हुन र आफ्नो सीप विकास गर्न सुझाव पनि दिए ।

सो कार्यक्रममा  निर्वाचन समितिका संयोजक महेश थापा, नेपाल पत्रकार महासंघ बेल्जियम शाखा सदस्य शेरबहादुर छन्त्याल, पत्रकार  सरस्वती कार्कीलगायतले शुभकामना दिँदै सबै पत्रकारहरु भावनात्मक रुपमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए  ।

शाखाका नवनिर्वाचित अध्यक्ष ओम शर्माले आगामी दिनमा सबै साथीहरुको साथ र सहयोग लिएर आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

गत फेव्रुअरी महिनाको पहिलो साता बेल्जियम शाखाको पहिलो अधिवेशन सम्पन्न भएको थियो भने केन्द्रको निर्देशन अनुसार मंगलबार नयाँ कार्यसमिति चयन गरिएको हो।