गृहमन्त्री निधिको अडान : राजीनामा नदिने, क्याबिनेटमा पनि नजाने

काठमाडौं – प्रधानमन्त्रीपछिको वरीयता नपाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । तर, निधिकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक (आइजिपी)मा प्रकाश अर्याललाई नियुक्त गरेको छ ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले प्रहरी महानिरीक्षक नियुक्तिका लागि चार डिआइजीको मूल्यांकन फाइल भने गृहमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको जानकारी दिए । गृहमन्त्री निधिले सोमबार बिहान १० बजेतिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए ।

वरीयता विवादपछि ३ चैतयता मन्त्रिपरिषद् बैठक बसेको थिएन । निधिले वरीयताको विषय आफ्नो प्रतिष्ठासँग जोडिएको भन्दै सोमबारको मन्त्रिपरिषद् बैठकमा नगएको उनीनिकट स्रोतले बतायो । स्रोतका अनुसार उनले प्रधानमन्त्रीसँग भनेका थिए, ‘वरीयताको विषय अब मेरा लागि प्रतिष्ठाको विषय भइसक्यो । म कमल थापाको पछाडि बस्न सक्दिनँ र अब क्याबिनेटमा पनि जान्नँ ।’

गृहमन्त्री निधिले आफ्ना प्रस्ताव प्रधानमन्त्री र मुख्यसचिवमार्फत मन्त्रिपरिषद पठाउने तर अबका कुनै बैठकमा पनि सहभागी नहुने पनि निकट व्यक्तिहरूलाई बताएका छन् ।