काठमाडौँ, २४ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको समस्याबारे यथाशक्य छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव दिनुभएको छ ।
निर्वाचन आयोगद्वारा आज ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाले भन्नुभयो – “आज बेलुकासम्म नेपाल सरकारबाट ठोस निर्णय आउन सकेन भने हामीलाई अप्ठेरो हुन्छ ।”
“धेरै मतदाता भएका मधेसका जिल्लाको मतपत्र र मतदाता परिचयपत्र छपाइ थालिहाल्नु समय भइसकेकाले त्यसअघि नै सरकारबाट ठोस निर्णय हुन आवश्यक छ, सरकारबाट त्यो हुन नसके आयोग दृढतापूर्वक सबै क्षेत्रको मतपत्र छपाइ गरेर निर्वाचनको पूर्ण तयारीमा जुट्ने छ” – प्रमुख आयुक्त यादवले भन्नुभयो ।
नेपाल सरकारबाट निर्वाचनमा खटिएर जाने कर्मचारीलाई काम गर्ने अनुकूल वातावरण र सुरक्षाको पूर्ण प्रत्याभूति हुन आवश्यक रहेको बताउँदै उहाँले आयोगले जटिलताको बीचमा पनि जिल्लामा मतदाता शिक्षा, मतदाताका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरेर अघि बढिरहेको जानकारी दिनुभयो ।






