लन्डन– बेलायतको वेल्समा जन्मिएर हाल इंगल्यान्डको ह्याम्पसायरमा बस्दै आएका नेपाली बालक शुभाशिस श्रेष्ठले नर्थ ह्याम्पसायरस्थित माइकल हस्पाइसको सहयोगार्थ ८.५ माइल लामो च्यारिटी वाक गरि नेपाली एक लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन गर्न सफल भएका छन् ।
गत शनिबार राति १० बजे सुरु भएको सो च्यारिटी वाकमा आफ्ना बाबु शिवजी श्रेष्ठसँगै सहभागी भएका शुभाशिसले सो .मुनलाइट वाक’ करिब ३ घन्टामा पुरा गरेका थिए ।
सन् १९९१ मा पूर्वमेयर मार्गरेट वेस्टनको नेतृत्वमा स्थापित सो हस्पायसमा छोटो आयु भएका अर्थात क्यान्सर जस्ता असाध्य रोगहरुबाट ग्रसित भइ जीवनको अन्तिम क्षणमा पुगेका हरुलाई राखिन्छ ।
विगत २५ बर्षदेखी यस्ता असाध्य रोगबाट पीडितहरुको सेवा गर्दै आएको यस संस्थाबाट प्रत्येक वर्ष ५०० भन्दा बढीले सेवा प्राप्त गर्दछ । ओखलढुंगामा जन्मिएर हाल बेलायतमा बसोबासरत आफ्ना बुवा शिवजी श्रेष्ठले प्रत्येक वर्ष गर्दै आएको च्यारिटीमा साथ दिएका १२ वर्षीय शुभाशिसले गत बर्ष नेपालमा विनासकारी भूकम्पपिडितहरुको सहयोगार्थ आफू पढेको बिद्यालयमा ‘नन युनिफर्म डे’ कार्यक्रम गराएर सहयोग रकम समेत संकलन गरेका थिए ।
यसका साथै आगामी अक्टोबर १५ मा बेलायतको बेजिंगस्टोकस्थित घरबारबिहिनहरुको सहयोगार्थ काउन्सिलर नाइजल पियर्सको नेतृत्वको ‘क्याम्रोज सेन्टर फर होमलेस पिपुल इन बेजिंगस्टोक’ द्वारा आयोजना गरिएको तथा आफ्ना बुवा शिवजी श्रेष्ठले संयोजन गरिरहेको ‘अ इभिनिङ फ्रम नेपाल’ नामक च्यारिटी कार्यक्रममा उनले नेपाली गीत गाउने तयारी पनि गरिरहेका छन् ।






