लन्डन– कमिसनका कारण आर्थिक संकट झेलिरहेको १०५ वर्ष पुरानो संस्था साझा प्रकाशन बचाउन बेलायतस्थित नेपाली साहित्यकारले अभियान सुरु गरेका छन् ।
स्रष्टाहरुको एक भेलाले साहित्यकार विकलचन्द्र आचार्यको संयोजकत्वमा साझा प्रकाशन साहित्यिक मञ्च बेलायत गठन गरिएको छ । मञ्चमा बेलायतमा रहेका प्रमुख नेपाली साहित्यिक संस्थाका प्रतिनिधि आबद्ध छन् ।
मञ्चका सदस्यहरुमा जयालक्ष्मी राई, सुरेशजंग शाह, विश्वासदीप तिगेला, सुमलकुमार गुरुङ, रुपक श्रेष्ठ, सुमाया राई, भावना परिस्कृत सुनुवार, देवेन्द्र खेरेस, दुर्गाप्रसाद पोखरेल, सोहन घिमिरे, लारा राई, गोपी सापकोटा, बाशु शर्मा र कृष्ण बजगाईं छन् । साहित्यकारसमेत रहेका नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री)लाई संरक्षक राखिएको छ ।
नेपाली दूतावासमा भएको भेलामा साझा प्रकाशनका अध्यक्ष डोलेन्द्रप्रसाद शर्मा पनि उपस्थित थिए । सरकारी पहलमा इतिहासमै पहिलोपटक साझाका पुस्तक प्रदर्शनी गर्न लन्डन आएका महाप्रबन्धक शर्माले आफ्ना २६ बुँदे कार्ययोजनाबारे प्रष्टयाउँदै साझा प्रकाशनलाई सबै साहित्यिक मनहरुले अपनत्व महसुस गरिदिन आग्रह गरे ।
एक शताब्दी इतिहास बोकेको, सयौं लेखकरसाहित्यकार जन्माएको साझा प्रकाशन लामो समयदेखि समस्यामा छ। लेखक, कर्मचारीको पारिश्रमिक लगायत सेवा निवृत्त तथा अवकाश पाएका कर्मचारीलाई दिनुपर्ने उपदान, विभिन्नर व्यक्ति र संस्थालाई तिर्नुपर्ने ऋण गरी साझा प्रकाशनले ४० करोडभन्दा बढी तिर्न बाँकी छ।






