संविधान नआउँदा व्यवसायी निराश

राजनीतिक दलहरुले आफैंले जनाएको प्रतिबद्धताअनुसार माघ ८ संविधान आउने दिन थियो । तर, दोस्रो संविधानसभाबाट पनि दलहरु तोकिएकै समयमा संविधान दिन असफल बनेका छन । तोकिएकै समयमा मुलुकले संविधान पाउला भनेर ढुक्क देखिएका विराटनगरका उद्योगी–व्यवसायीले दलहरुले संविधान दिन असफल भएपछि नयाँ लगानी थप्नुभन्दा पनि सन्चालनमा रहेका उद्योेगलाई कसरी बचाउने भनेर चिन्तित देखिएका छन् ।
लामो राजनीतिक अस्थिरता र चरम विद्युत् अभावका कारण आक्रान्त बनेका पूर्वका उद्योेगी–व्यवसायी संविधान निर्माणपछि देशले राजनीतिक र आर्थिक फड्को मार्ने आशामा रहेका थिए । दलहरुको तान्डवले उद्योगी–व्यवसायीको आशामा तुसारोपात ल्याइदिएको उद्योग संगठन मोरङका उपाध्यक्ष मुकेश उपाध्यायको भनाइ छ ।
मुलुककै आर्थिककान्तिको अगुवाइ गरेको विराटनगरका उद्योगी–व्यवसायीले राजनीतिक दलका नेताको चरम सत्तालिप्सा र निहीत स्वार्थका कारण मुलुक अनिर्णयको बन्दी बनेको’ निष्कर्षसमेत निकालेका छन । संविधान मूल कानुन भएकाले आर्थिक लगानीको पाटोमासमेत यसको प्रभाव बढी हुने अर्थविद्हरुको ठम्याइ छ । समयमै मुलुकले संविधान नपाउँदा राजनीतिक अस्थिरता बढेसँगै लगानीको वतावरणसमेत बिग्रिने अर्थविद् डा. भेषप्रसाद धमलाले बताए ।
दलहरुले प्रतिबद्धता जनाएअनुसार निर्धातिर मितिमा संविधान नआउँदा सबैभन्दा बढी मार निजी क्षेत्रले ब्यहोर्ने भन्दै विराटनगरका उद्योगी–व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।