काठमाडौं – एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको छ । मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ । त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको हो । यसैबीच सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधबीच नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत यहाँस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा जनसभा सम्पन्न भएको छ ।
सुनसरीको इनरुवामा कार्यक्रम गरी सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको टोली सप्तरी आउँदा मोर्चाका कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरी अवरोध गरेका थिए । तर कडा सुरक्षा व्यवस्थाका कारण जनसभा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सभा सम्पन्न भएसँगै फर्कने क्रममा मोर्चाका कार्यकर्ताले एमाले नेताहरु सवार गाडीमा ढुङ्गा प्रहार गर्नुका साथै सडकमा टायर बालेर विरोध गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि पाँच राउण्ड हवाई फायर गरेको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तराई–मधेसमा २० हजार जनतालाई आवास बनाएको, कृषिको औद्योगिकीकरण गर्ने, विद्युतीय रेल चलाउनेलगायत कार्यक्रम अघि सारेकाले विरोधीहरुलाई पिर परेको दाबी गरे । नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै तराई–मधेसका विपन्न गरिब जनताको अधिकारकालागि लडाईं लडेको बताउनुभयो । कार्यक्रममा एमाले नेता सत्यनारायण मण्डल र लालबाबु यादवले पनि बोलेका थिए ।






