काठमाडौं–फागुन २ गते प्रहरी महानिरीक्षक सेवा अवधि पुरा गरेर रिटायर्ड हुँदै थिए ।
डिआइजीहरु जय बहादुर चन्द र नवराज सिलवाल मध्येको आईजीपी हुने भन्नेबारेको बिवाद अदालतमा छताछुल्ल भैसकेको थियो ।
निमित्त आईजीपी कसलाई जिम्मा लगाएर हिँड्ने भन्नेबारे उपेन्द्रकान्त अर्याल अनिर्णीत थिए, ठिक त्यतिनै बेला उनको टेवलमा एउटा निवेदन आयो । निवेदन नेपाल प्रहरी अस्पतालका प्रमुख एआईजी डा. दिनेशचन्द्र पोखरेलको थियो । २० दिनको छुट्टी माग गर्दै हालेको निवेदन सरसरर्ती पढेपछि अर्यालले डा.पोखरेललाई फोन गरेर सोधे, ‘किन चाहियो तपाईलाई त्यति लामो बिदा ?’
डा. पोखरेलले स्थिति पनि ठिक नभएको र आफूभन्दा जुनियरले प्रहरीको कमाण्ड सम्हाल्न लागेको स्थितिमा अर्यालकै हातबाट बिदा लिन चाहेको जवाफ फर्काए ।
आईजीपी बिवाद अदालत पुगेको बेला सिनियर एआईजिलाई नै निमित्त दिनुपर्ने परिस्थिति आउनसक्ने भन्दै अर्यालले उनको बिदा अस्वीकृत गरिदिए ।
तिनै एआईजी अहिले निमित्त प्रहरी प्रमुखको हैसियतमा आईजिपीको कुर्सीमा छन् । लामो छुट्टी लिएर घुम्न जान खोजेका पोखरेल अचानक प्रहरी प्रमुखको भूमिकामा आफुलाई पाएसँगै अन्योलमा परेका छन् । त्यसैले उनी आजभोलि हरेक निर्णय गर्नुअघि तिनै उपेन्द्रकान्त अर्यालको भर पर्छन् ।
निमित्त चलाउँदा पनि पोखरेलले २० जना डिआईजी सरुवाको सिफारिस गृहमा पठाए । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पोखरेलले पूर्व आईजिपी उपेन्द्रकान्त अर्यालले भने अनुसार नै डिआईजी सरुवाको सुचि बनाएका थिए । पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालयमा डिआईजी मधु पुडासैनी र मध्य पश्चिमाञ्चलमा डिआईजी विजयलाल कायस्थलाई अर्यालकै सिफारिशमा सरुवा गरिएको थियो ।
केही दिनअघि मात्रै २२९ जवानलाई हवल्दार र ९४ हवल्दारलाई असईमा बढुवा गर्ने निर्णय गरेका डा. पोखरेलसँग कामचलाउन अधिकार मात्रै भएपनि अर्यालकै सल्लाहमा भटाभट नितीगत निर्णय गरेको बताईएको छ ।
आईतबार विहानै अर्यालको निजी निवास हात्तिगौंडा पुगेका डा. पोखरेल गत शनिवार पनि अर्याल निवास पुगेका थिए । अर्यालकै सल्लाहमा केही डिएसपी र एसपीहरुको सरुवा गर्ने तयारी भईरहेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाई छ ।
एसएसपी सर्वेन्द्र खनाललाई प्रायजसो साथमै लिएर हिँड्ने पोखरेलले सानो काम पर्नासाथ अर्याललाई फोन गरेर सोध्ने गरेको प्रहरी प्रधान कार्यालयका एक डिएसपीले जानकारी दिए ।
यसरी ७२ हजार फोर्सलाई कसरी कमाण्डिङ गर्ने भन्नेबारे निमित्त आईजिपी नै अन्योलमा रहँदा सचिवालयमा लामो समदेखी कार्यरत केही प्रहरी अधिकारीले चलखेल गर्ने मौका पाएको बताइएको छ ।






