बागमतीमा फोहर फाल्दै हुनुहुन्छ ? ड्रोन क्यामेराले खिच्ला

काठमाडौँ, २९ माघ । बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ ।

दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले आजदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता उमेश बोहराले बताए ।

‘गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म र काठमाडौँ महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतार्न सरकारसँग स्वीकृति लिइएको छ,’ उनले भने ।

ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा बुझाइने भएको छ । ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आउन चार दिन लाग्ने सफाइ महाअभियानले जनाएको छ ।