केसी र भण्डारीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुला

काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधीश बन्ने बाटो खुला गरिदिएको छ ।
समितिको आजको बैठकले न्याय परिषदले सर्वोच्चको न्यायाधिशमा सिफारिस गरेका केसी र भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

सर्वोच्च अदालतको न्यायाधिशमा सिफारिस गरिएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश केसी र उच्च अदालत पोखराका मुख्य न्यायाधिश भण्डारीको नाम अनुमोदन गरिएको समितिका सदस्य समेत रहेका रक्षा मन्त्री बालकृष्ण खाँडले जानकारी दिए । उनले न्याय परिषदले वरिष्ठताका आधारमा न्यायाधिश सिफारिस गरेको पनि स्मरण गराए ।

न्याय परिषदको पुस १८ गते बसेको बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश केसी र उच्च अदालत पोखराका मुख्य न्यायाधिश भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधिश नियुक्तिका लागि सिफारिस गरेको थियो । न्याय परिषदले कार्य सम्पादन, वरिष्ठता, अनुभव, विषयबस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता र नैतिक आचरणलाई आधार बनाएर केसी र भण्डारीलाई सर्वोच्चको न्यायाधिशमा नियुक्तीका लागि सिफारिस गरिएको संसद सचिवालयलाई जानकारी गराएको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका दुवै न्यायाधिशलाई नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।