बेलायतका पर्यटन दूत भण्डारीको पत्रकार सम्मेलन (फोटो फिचर)

सन् २०१७ लाई ‘भिजिट नेपाल यूरोप’कारुपमा मनाइने

लन्डन– नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले आफ्नो ११ महिने कार्यकालका उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

बुधबार साँझ एभरेष्ट इन ब्ल्याकहिथमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रियामा भण्डारीले आफूले गरेका काम र भावी योजना जानकारी गराए ।

pashupati1

भण्डारीले लुइसम स्काउट आवद्ध ४४ जना बेलायतीलाई नेपाल भ्रमण गराएको, बेलायतस्थित व्यवसायीहरु सम्मिलित ट्रेड डेलिगेसन नेपाल लान सहयोग गरेको, नेपाल आयरल्याण्ड डे, लन्डन मेला र डब्लुटिएममा नेपाल पर्यटन बोर्ड यूकेको सहभागिता जनाएको उल्लेख गरेका छन् । उनले नेपालको पर्यटनलाई प्रचार प्रसार गरेको, साउथ इष्ट लन्डन च्याम्बर अफ कमर्सको नेटवर्किङ इभेन्टमा सहभागी भएको, गोर्खा मेमोरियल स्मारक उद्घाटनका क्रममा फोकस्टन केन्टमा सहभागिता, डब्लुटिएममा सहभागिता, ब्ल्याकहिथ भिलेज डेमा सहभागी, ल्यानकेष्टर युनिभर्सिटीमा नेपालको पर्यटन सम्वन्धि जानकारी कार्यक्रम गरेको, चाल्टर्न प्राइमरी स्कुलका विद्यार्थी र शिक्षकलाई एभरेष्ट इनमा बोलाएर नेपाल सम्वन्धि जानकारी दिएको उल्लेख गरे ।

pashupati2

भण्डारीले बेलायतमा रहेका करिब अढाइ सय रेष्टुरेन्टले कम्तीमा आफ्नो रेष्टुरेन्टमा आउने ग्राहकलाई नेपाल घुम्न जान प्रेरित गरे त्यो ठूलो योगदान हुने बताए ।

आगामी योजना के छन् ?
भण्डारीले पत्रकार भेटघाटमा आगामी योजना पनि सुनाए ।

सन् २०१७ लाई ‘भिजिट नेपाल युरोप’ का रुपमा मनाउने तयारी भइरहेको जानकारी दिंदै उनले यसको औपचारिक उद्घाटन आगामी मार्चमा दूतावासबाट हुने बताए । ०१७ मा नेपाली नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम, वुद्ध जयन्ती, एभरेष्ट डे, फोटो प्रदर्शनी र वर्कसप, संगीत महोत्सव, वल्ड कल्चर डे सेलेब्रेसनलगायतका कार्यक्रम गरिनेछन् ।

pashupati5

नेपाली मेला, लन्डन मेला, स्कटल्याण्ड महोत्सव र हाइथ महोत्सवमा नेपाल पर्यटन बोर्ड यूकेको सहभागिता जनाउने उनको योजना छ । वल्ड टुरिजम मार्केट (डब्लुटिएम) र एसियन तथा ब्रिटिस करी अवार्डसमा सहभागिता जनाउने आफ्नो योजना पनि उनले सुनाए । उनले आफूले कार्यक्रम गर्दा कुनै पनि आर्थिक सहयोग नलिएको जानकारी दिए ।

भण्डारीलाई कसले के सुझाव दिए ?
अन्तर्क्रियामा पर्यटन दूत भण्डारीलाई सहभागीले केही सुझावहरु दिएका छन् ।

पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर मनिराज लामिछानेले नेपालको पर्यटन प्रवर्धनमा यूके दूत भण्डारीको पहल प्रशंसनीय रहेको उल्लेख गरे । उनले बेलायतका नेपालीले विदेशी पर्यटकलाई नेपाल घुम्नका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गरे । लामिछानेले एकजना पर्यटकले नेपालमा दशजनालाई रोजगारी दिने जनाउँदै नेपाल पर्यटकको स्वागत गर्न सधैं आतुर रहेको पनि बताए ।

pashupati8

कार्यक्रममा नेपाली राजदूतावासका अट्याची तेजेन्द्र रेग्मीले बेलायतबाट पर्यटक नेपाल पठाउन दूतावासको पनि प्रमुख भूमिका रहने बताउँदै १ जनवरीदेखि उही दिन भिजा दिने व्यवस्था मिलाइएको बताए ।

pashupati6

एनआरएनए यूके आइसीसी सदस्य संगिता मरहट्ठाले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए केन्द्रीय सल्लाहकारहरु विश्वआदर्श पण्डित र मेजर (रि) डमर घले, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेल, व्यवसायी कृष्ण भट्ट, तमु समाज बेलायतका सल्लाहकार सुवसिंह गुरुङ, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, एनआरएनए यूके प्रवक्ता खुशी लिम्बु, समाजसेवी चिरन्जिवी ढकाल, पत्रकार चिरन शर्मा, भोजराज बराल, गणेश खड्का लगायतले सुझाव दिए ।

एभरेष्ट इनका निर्देशक यादव भण्डारीले धन्यवाद मन्तव्य दिएको कार्यक्रमका सहभागीलाई एभरेष्ट इन रेष्टुरेन्टले स्वादिष्ट खाना तथा पेय पदार्थ व्यवस्था गरेको थियो ।

yadav1