संविधानसभा बैठक अझै बसेन

काठमाडौँ, ५ माघ । संविधानसभा, व्यवस्थापिका–संसद् कार्यव्यवस्था समिति र संविधानसभाको बैठक अहिलेसम्म बस्न सकेको छैन । आज बिहान ११:३० बजे कार्य व्यवस्था र अपराह्न १३ बजेका लागि बोलाइएको संविधानसभाको बैठक दलीय सहमति नहुँदा बस्न नसकेको हो । सहमति जुटाउन प्रमुख राजनीतिक दलबीच द्विपक्षीय एवम् बहुपक्षीय छलफल भए पनि निष्कर्षमा पुगेको छैन ।
अहिलेसम्म बैठक हुन नसकेको कारणबारे सञ्चारकर्मीको जिज्ञासामा नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सङ्घीयताका विषयमा सहमति हुन नसकेपछि निर्णयमा पुग्न नसकिएको स्पष्ट गर्नुभयो । सत्तापक्ष लचिलो रुपमा प्रस्तुत हुँदासमेत विपक्षी असहमत भएपछि मतभेदका विषयमा सहमति कायम गर्ने भरमग्दुर प्रयास जारी रहेको उहाँले बताउनुभयो । यसैबीच एनेकपा (माओवादी) का सभासद् सुरेन्द्र कार्कीका अनुसार सभाध्यक्षको कार्यकक्षमा चार दलको बैठक सुरु भएको छ ।