तमु समाज यूकेले भव्यरुपमा मनायो ल्होछार

लन्डन– तमु समाज यूकेले गत शनिबार च्य ल्होछार (चरा वर्ग) भव्य कार्यक्रम गरेर मनाएको छ ।

ह्यारो लिजर सेन्टरमा आयोजित उक्त कार्यक्रममा समाजले नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी दम्पतिलाई औपचारिक स्वागत गर्‍यो ।

समाजका महासचिव ज्ञानबहादुर गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा वक्ताहरुले तमुहरुको महान पर्व ल्होछारका अवसरमा शुभकामना दिए । प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना मन्तव्य दिंदै बेलायतमा पनि तमुहरुले आफ्नो कला, संस्कृति र भेषभूषा जोगाइ राखेको धारणा राखे । ल्होछार तमुहरुको मात्र नभइ राष्ट्रिय पर्व भएकाले यसले नेपालीहरुलाई एकसूत्रमा बाँधेको पनि राजदूतको भनाइ थियो ।

समाजका अध्यक्ष अर्जुनकुमार गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा समाजले हालसम्म गरेका गतिविधिबारे पनि प्रकाश पारिएको थियो । विशेष अतिथि ब्रेन्ट काउन्सिलका डेपुटी मेयर भगवानजी चौहानले पनि शुभकामना दिए ।

कार्यक्रममा समाजको हाउजिङ प्रोजेक्टका संयोजक एवं सल्लाहकार सुवसिंह गुरुङले प्रोजेक्टको अपडेट गराउँदै ब्रेन्ट काउन्सिलले भवन दिनेबारे सकारात्मक रुपमा कुरा अगाडि बढेको जानकारी दिए । समाज आफ्नै सामुदायिक भवन बनाउन केही वर्षयता जुटिरहेको थियो ।

बेलायत र नेपालको राष्ट्रिय गीत बज्नुअघि कार्यक्रम संयोजक केदारबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टी ब्रिफ गरेका थिए ।

ल्होछारका अवसरमा सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । असिस्टेन्ट कल्चरल सेक्रेटरी श्रीमति लक्ष्मी गुरुङको कोरियोग्राफीमा आयोजित सांस्कृतिक कार्यक्रम र उत्कृष्ट नाचले सहभागीको ध्यान आकृष्ट गर्‍यो। कार्यक्रममा यम गुरुङ र निर्मला गुरुङले गीत गाए ।

आमा समूहकी अध्यक्ष माया गुरुङको नेतृत्वमा समूहको तर्फबाट नाच समेत प्रस्तुत गरिएको थियो । दोश्रो चरणको कार्यक्रम निरज गुरुङ र निर्मला गुरुङले सञ्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
तस्बिर: मिलन तमु