शिव भण्डारी
लन्डन– नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले आफ्नो १२ औं स्थापना दिवस भव्य कार्यक्रमबीच मनाएको छ ।
मंगलबार लन्डनको ह्यारोस्थित दिलसे ब्यांकेटिक हलमा ठूलो संख्यामा उपस्थिति पार्टीका नेता कार्यकर्ताबीच स्थापना दिवस मनाइएको हो । मञ्चका बेलायत अध्यक्ष रामशरण सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा चितवन क्षेत्र नं. ३ का सांसद कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, बेलायती सांसदहरु वीरेन्द्र शर्मा, ब्यारी गार्डनर, ग्यारेथ थोमसलगायतका विशेष अतिथि थिए ।
प्रवासी नेपाली मञ्च बेलायतका नर्थ वेस्ट कमिटी अध्यक्ष वसन्त नेपालको स्वागत मन्तव्यमा सुरु भएको समारोहलाई सम्बोधन गर्दै सांसद पोखरेलले लामो समयको संक्रमणपछि नेपालमा नयां संविधान जारी भएको र अब देशमा राजनीतिक क्रान्तिको चरण पूरा भएको बताए । ‘आर्थिक समृद्धिको बाटोमा मुलुक अघि बढिरहेको छ,’ उनले भने, ‘मुलुकबाहिर बसोबास गर्ने सबै प्रवासी नेपालीहरुको तर्फबाट रचनात्मक सहयोग मुलुकका लागि आवश्यक छ ।’
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले विदेशमा बसोबास गर्ने नेपालीहरु जुनसुकै रुपमा भएपनि नेपाल र नेपालीको हितको लागि सदैव क्रियाशिल रहनुपर्ने विचार व्यक्त गरे । तीनै जना बेलायती सांसदहरु वीरेन्द्र शर्मा, ब्यारी गार्डनर र ग्यारेथ थोमसले बेलायत र नृपालबीचको दुई सय वर्ष पुरानो घनिष्ठ कुटनीतिक सम्बन्धको चर्चा गरे । 
एनआरएन युरोप क्षेत्रीय संयोजक कुल आचार्यले प्रवासी मञ्च यूकेले सामाजिक क्षेत्रमा विभिन्न उदाहरणीय कामहरु गरेको भन्दै प्रशंसा गरे ।
मञ्चका अध्यक्ष सिंखडाले समारोहलाई सफल बनाउन सहयोग गर्ने सबैमा मञ्चका तर्फबाट धन्यवाद ज्ञापन गरे ।
मञ्चका महासचिव तुंगभद्र भुसालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रविन्द्र कँडेलले धन्यवाद मन्तव्य राखेका थिए ।
समारोहमा लिभरपुल जोन मोर युनिभर्सिटीका एसोसिएट डिन डा. पदम सिंखडालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका दोस्रो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । गायक एवं पोखरास्थित बिग एफएमले आयोजना गर्ने राष्ट्रिय गायन प्रतिस्पर्धाका विजेता साजन आलेले ‘निर जहिले रिसाउने…’ ‘पिलायो साथीले…’ ‘क्या दामी भो…’लगायत गीत गाएका थिए ।प्रतिष्ठा त्रिपाठी, रश्मी गौतम, विजया भण्डारीलगायतका स्थानीय कलाकारले नृत्य प्रस्तुत गरे ।






