काठमाडौँ- सभामुख ओनसरी घर्तीले नेपालको संविधानले महिलासम्बन्धी धेरै विषयलाई सम्बोधन गरेको बताउनुभएको छ ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–“नयाँ संविधान पूर्णरुपमा कार्यान्वयन भएको दिन यो देशमा छोरी भएर जन्मिएको कारण म पछि परेकी हुँ भनेर कसैले पनि बाधा–विरोध सहेर बस्नु पर्दैन ।”
नेपालको संविधानले नेपाली महिलाका लागि उज्ज्वल भविष्यको मार्ग कोरिसकेकाले छोरीलाई अघि बढ्ने सन्दर्भमा अब कसैले पनि रोक्न र छेक्न नसक्ने बताउँदै सभामुखले भन्नुभयो–“अघिल्लो पुस्ताका महिलाले गरेको आन्दोलन र योगदानको परिणामस्वरुप अहिले राष्ट्रपति, सभामुखमा महिला पाएका छौँ, त्यसले उहाँहरुको सपना पूरा भएको छ ।”
दुई महिला उच्च पदमा पुग्ने बित्तिकै सबै महिलाको जीवनस्तरमा छुमन्तरको ढङ्गबाट परिवर्तन नहुने भए पनि चुलोचौकाको जिम्मेवारीबाट बाहिर निस्कन उत्साह, हौसलाका साथै धावा बोल्न साहस प्रदान गर्ने उहाँको भनाइ थियो ।






