आदिवासी जनजाति महिला महासंघ बेलायतको विज्ञप्ति: हत्यारालाई कडा कारबाहीको माग

लन्डन– ‘बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिटपछि मृत्यु भएको भनिएकी’ काभ्रे सानो वाङथली–७ की लक्ष्मी परियारका हत्यारालाई कडा कारबाही गर्न नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतले माग गरेको छ ।laxmi

महासंघका बेलायत अध्यक्ष कमला थापा र महाचिव विमला सेनेले संयुक्त विज्ञप्ती जारी गर्दै परियारको मृत्यृ प्रकरणमा जोडिएकालाई कडा कारबाही गर्न माग गरेका छन् ।

मंसिर २० गते मेलाबाट फर्कने क्रममा स्थानीय शिक्षक हिरा तामाङ र उनकी आमा काइलीसँग विवाद भएपछि दुवैले कुटपिट गरेर परियारको हत्या गरेको मृतकका छोराले प्रहरीसामू बयान दिएका थिए ।३३ वर्षीया लक्ष्मीलाई अघिल्लो  मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमुत्र खुवाएको थियो। छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा र प्रतक्ष्यदर्शीले बयान दिएका थिए।

पाल्पामा अन्तरजातीय विवाहकै कारण बिनु थापा पुलामी मगरको हत्याको घटना सेलाउन नपाउँदै परियारको हत्याप्रति महासंघले चिन्ता व्यक्त गरेको छ । ‘लगातार यस किसिमको अक्षम्य एवम् निकृष्ट शैलीको रुढिवादी, जातिय भेदभाव छुवाछुत र महिला हिंसाको घटनाप्रति आदिवासी जनजाति महिला महासंघ, बेलायत कडा विरोध र घोर भर्त्सना गर्दछ,’ विज्ञप्तीमा लेखिएको छ, ‘यस्तॊ अत्यन्त निन्दनीय, संवेदनाहीन र अमानवीय घटनाका निम्ति नेपाल सरकारसँग यस घटनाका सम्बन्धित दोषीहरुलाई कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा कारबाही गरियोस् भन्ने जोडदार माग गर्दछ र पीडित परिवारलाई न्यायोचित अधिकतम रकम क्षतिपूर्ति उपलब्ध गराइयोस् भन्ने माग पनि गर्दछ ।’

महासंघले नेपालमा रुढिवादी, जातीय र लैंगिक विभेदको असर महिलामाथि निरन्तर परिरहँदा पनि अपराध न्यूनिकरणमा सरकार कमजोर भएकोप्रति आदिवासी जनजाति महिला महासंघले चिन्ता व्यक्त गरेको छ ।