काठमाण्डौं । कुनै बेला म्यूजिक भिडियोमा राज गरेकी र पछि ठूलो पर्दामा सक्रिय रहेकी नायिका शशी खड्का बिगत डेढ बर्षदेखि एकाएक हराएकी थिइन् ।
उमेर छँदै पलायन भएको भन्दै फिल्म उद्योगमा चिन्ता दर्शाइरहँदा शशी फेरि अभिनयमा सक्रिय हुन थालेकी छिन् ।
डेढ बर्षको ‘ब्रेक’पछि काममा फर्किएकी शशिले कमब्याक भन्ने शब्दबाट भने पीडा भएको बताइन् । डेढ बर्ष हराउँने वित्तिकै ‘कमब्याक’ भन्न नमिल्ने उनको तर्क छ । उनले आफ्नो व्यवसाय, पढाई र स्वास्थ्यका कारण काम गर्न नसकेको खुलाइन् ।
शशीले भनिन्-‘म चलचित्रमा नै काम गर्छु भन्ने सोंचले अगाडि बढेकी छैन । चलचित्रमा मात्र काम गर्दा अन्य काम गर्न पाइँदैन, त्यसैले यो मेरो सहायक काम मात्र हो ।’
शशीले अब अवार्ड जित्ने खालका फिल्ममा मात्र काम गर्ने बताइन । ‘जहाँ अभिनय देखाउन पाइन्छ, त्यसमा मात्र काम गर्छु । अवार्ड पनि जितियोस्, दर्शकले पनि तारिफ गरुन् ।’ उनले मनको इच्छा खुलाइन् ।
‘पलपलमा, किन किन’ जस्ता चलचित्रमा केही हट अवतारमा देखिएकी शशीले अब यस्तो भूमिका नगर्ने बताइन् ।
उनले भनिन ‘मलाई लाग्दैन मैले त्यस्तो उच्छृङ्खल भूमिकामा काम गरेकी छु । तर, पनि अब अभिनय देखाउने चलचित्रमा काम गर्छु, जवानी देखाउने होइन ।’
म्यूजिक भिडियोको कामलाई निरन्तरता दिने सोंचमा रहेकी मोडल तथा नायिका खड्काले आफ्नो सोंचाई भल्गर दृश्य दिनु नरहेको खुलाइन् ।






