लन्डन– लन्डनस्थित नेपाली दूतावासमा सोमबार साँझ विजयादशमी, दीपावली, छठ र माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र श्रीमति पुनम राज्यलक्ष्मी सुवेदीले आयोजना गरेको कार्यक्रममा उल्लेख्य उपस्थिति थियो । अढाई वर्षपछि दूतावासले नेतृत्व पाएपछि आयोजना गरिएको दसैं कार्यक्रम नयाँ राजदूत भेट्न पनि उपस्थिति बाक्लो थियो ।
कार्यक्रम सम्वोधनका क्रममा राजदूत डा. सुवेदीले समस्त नेपालीमा विजयादशमी, दीपावली, छठ र माघी पर्वको शुभकामना दिंदै सुख, स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरे । उनले आफ्नो कार्यकालमा नेपाल र नेपालीको शीर र स्वाभिमान अक्षुण राख्न सधैं प्रतिवद्ध र प्रयत्नशील रहने पनि विश्वास दिलाए ।
डा. सुवेदीले साना कामबाट दूतावासलाई सुदृढ गर्ने कदमको सुरुवात गरिएकोसमेत जानकारी दिए । उनले ८३ वर्षपछि दूतावासमा १० अक्टोबरदेखि ठूलो आकारको नेपाली झन्डालाई दूतावासबाहिर राखेका छन् ।
बहादुर शमशेर जबराको पालादेखि दूतावासमा आफू २० औं नेपाली राजदूतका रुपमा उभिएको जनाउँदै उनले अबको चार वर्षे कार्यकालमा बेलायतवासी नेपाली समूदायसँग मिलेर काम गर्ने बताए ।
दूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा दूतावासका काउन्सेलर, प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरन, सैनिक सहचारी प्रदीपजंग केसी, अट्याची तेजेन्द्र रेग्मीसहित मुख्य सचिव डा. सोमलाल सुवेदी, सांसद रेशम लामा, प्रा.डा. सूर्य सुवेदी, नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष एवं उद्योगपति राजेन्द्र खेतान, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङलगायतको उपस्थिति थियो ।
तस्बिरहरु: वीरेन्द्र श्रेष्ठ









