लन्डन– बेलायतलाई निशर्त यूरोपियन युनियनको बजारमा प्रवेश रोक्ने सम्भावना बढेको छ ।
जर्मन चान्सलर एन्जेला मर्केलले ईयूले बेलायतलाई युरोपको एकल बजार नीतिमा समावेश गर्न बेलायतले शर्त पूरा गर्नुपर्ने संकेत गरेकी छन् । ईयू सदस्य राष्ट्रका जनतालाई आवतजावतमा अवरोध गर्न नपाइने उनको भनाइ छ ।
बेलायत र ईयू सदस्य राष्ट्रबीच युरोपको एकल बजार र ईयू सदस्य राष्ट्रका नागरिकको स्वतन्त्र रुपमा आवागमनलगायतका विषयले गहिरो रुप लिएपछि बहिर्गमन प्रक्रियामा समस्या देखिएको छ ।
यद्यपि बेलायतकी प्रधानमन्त्री थेरेसा मेले बहिर्गमन प्रक्रियालाई सन् २०१७ को मार्चदेखि सुरु गर्ने बताएकी थिइन् ।
ईयू सदस्य राष्ट्रका नेताले भने ईयूबाट बेलायतको बहिर्गमन प्रक्रिया जति लम्बियो त्यति नै दुवै पक्षलाई समस्या पर्ने भन्दै प्रक्रियालाई यथासम्भव छिटो सुरु गर्न आग्रह गरेका छन् ।
‘यदि हामीले ईयूको एकल बजार नीतिलाई आजतजावतमा पूर्ण स्वतन्त्रतासँग गाँसेर कुरा गरेनौँ भने यसबाट ईयू सदस्य राष्ट्रलाई न्याय नहुने पक्का देखिन्छ,’ मर्केलले भनिन् । एकल बजारसँगै आवागमनको कुरामा सहमति भएमा मात्र ईयू सदस्य राष्ट्रले बेलायत र बेलायतले ईयू सदस्य राष्ट्रमा बराबर अस्तित्वका साथ आफ्ना गतिविधिलाई सञ्चालन गर्नसक्ने उनले बताइन् ।






