पुनर्निर्माण गर्न चीनद्वारा १७ अर्ब प्रस्ताव

काठमाडौं- चीनले भूकम्पपछिको पुनर्निर्माणका लागि १६ अर्ब रुपयाँ अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ । नेपालको पुनर्निर्माणका लागि चीनद्वारा प्रतिबद्धता गरिएको सहयोग रकमलाई कार्यान्वयन गर्ने प्रक्रियाअन्तर्गत चीनले पहिलो चरणमा यो रकम प्रस्ताव गरेको हो ।

गत वर्ष असारमा आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले कुल ४८ करोड अनुदान रकम उपलब्ध गराउने घोषणा गरेको थियो । सम्मेलनमा विदेशी मुलुकबाट नेपालको पुनर्निर्माणका लागि घोषित अनुदानमध्ये यो सबैभन्दा बढी रकम थियो ।

उक्त ४८ करोड अनुदान रकम आगामी दुई वर्षभित्र नेपालले कार्यान्वयन गरिसक्नुपर्नेछ । चीनले नेपाललाई उपलब्ध गराउने उक्त सहयोग रकमका लागि चीन र नेपालबीच नयाँ समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए ।

अर्थ मन्त्रालयले उक्त चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न आवश्यक गृहकार्य गरिरहेको बताइएको छ । ‘चीनले उक्त सहयोग राशि उपलब्ध गराउने प्रस्ताव पठाएको छ । अब हामी समझदारीपत्रमा चाँडै हस्ताक्षर गर्छौं, टुंगो भइसकेको छैन’, अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका उपसचिव प्रेम उपाध्यायले भने ।

गत वर्ष साउनमा चीनले पुनर्निर्माणका सहयोगको पहिलो चरणअन्तर्गत नेपाललाई एक अर्ब ६७ करोड नेपाली रुपैयाँ नगद उपलब्ध गराएको थियो ।