एमाले नेता मण्डल भन्छन्, ‘संविधान संशोधनप्रति एमालेसँग गुनासो गर्ने हक छैन’

बर्दिवास, १४ असोज । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त मधेसी मोर्चालाई संविधान संशोधनको सवालमा एमालेसँग गुनासो गर्ने नैतिक हक नभएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिबासमा नेकपा एमाले महोत्तरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाले एमाले नेतृत्वको सरकार गिराउन र नयाँ सरकार गठनका लागि नै संविधान संशोधनको कुरा पहिलो बुँदामा राखेपछि आफ्नो पार्टीसँग सो सम्बन्धमा उनीहरुको गुनासो गर्ने नैतिक हक नभएको स्पष्ट पार्नु भयो ।

नेता मण्डलले भन्नुभयो, “त्यतिखेर संविधान संशोधनका लागि एमाले गुहारिँदैन भन्नेहरुले नै संविधान संशोधन गर्नेछन् । यद्यपि आफ्नो पार्टी औचित्य र आवश्यकताका आधारमा हुने संविधान संशोधनप्रति सधैं सकारात्मक छ । ”