तुलसीपुर – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको छ भन्ने हल्ला गलत रहेको बताएका छन् ।
दाङको तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता पुनले भने ‘कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा मात्रै हुने कुरा हो ।’
उनले यो केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षडेन्त्र मात्रै भएको बताए ।
त्यस्तै उनले अंगिकृत नागरिकताको सवाल उठाएर राष्ट्रभक्त जनतालाई विभाजन खोजिएको आरोप समेत लगाए ।
यो विषय संघीय कानुनले निर्णय गर्ने भएकोले राजनीतिक फाईदाका लागि प्रतिपक्षीले अर्नगल प्रचार गरिरहेको उनको आरोप छ ।
उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुईदेश विच चिसिएको सम्वधमा न्यानोपना आएको दाबी गरेका थिए । पूर्व अर्थमन्त्री समेत रहेका पुनले नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिका बीचमा भारतको गुवाको विक्समा साईडलाईन भेट्ने र सम्वादगर्ने निश्चित भएको बताए ।
चिनिया राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको सवालमा माओवादी नेता पुनले भने ‘नेपाल हल्लै हल्लाको देश जस्तै हो । आफै भ्रमण मिति फिक्स गर्ने र आफै क्यान्सिल गर्ने काम भइरहेको छ । जवकि भ्रमणको मिति नै तय भइसकेको थिएन ।’
उनले यो सरकारले चिनियाँ राष्ट्रपति वा प्रधानमन्त्रीको भ्रमण गराउने वारेमा छलफल भएपनि त्यसको टुङ्गो लागि नसकेको बताए ।
उनले अघिल्लो सरकारले छिमेकी संगको सम्वन्धलाई उत्तेजनात्मक बनाउने, सन्तुलन विगार्ने र मधेसको सम्वन्ध सुधारका लागि कुनै भूमिका नखेल्दा समस्या भएकोले अब त्यो सम्वन्ध सुधार भइरहेको बताए ।






