काठमाडौँ, ३० भदौ । नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी कात्तिक २७ देखि हुने भएको छ ।
तरुण दलको महाधिवेशन आगामी कात्तिक २७ देखि २९ गतेसम्म हुने मिति तय भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिए । समितिको बिहीबार बसेको बैठकले आगामी असोज १५ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न तरुण दललाई निर्देशन दिएको छ ।
सो अवधिमा जिल्ला अधिवेशन सम्पन्न हुननसकेमा निर्देशन समितिले हस्तक्षेप गरी कात्तिक १० गतेसम्म विवादित सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ ।
केही जिल्लामा देखिएको विवादका कारण समयमै जिल्ला अधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको मिति सारिएको हो । यसअघि सो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा हुने भनिएको थियो ।






