काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी त्रीव पारिएको छ । भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने अनौपचारिक टुङ्गो लागेपनि मन्त्रीपरिषदको बैठकले निर्णय भने गरेको छ्रैन् । भ्रमण निश्चित भएकाले आवश्यक तयारी भने भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याले बताए ।
भारत भ्रमणमा प्रस्तुत गर्ने ‘एजेन्डा सेटिङ’ का लागि परराष्ट्र मन्त्रालयको नेतृत्वमा विभिन्न मन्त्रालयहरुले गृहकार्य थालेका हुन् । प्रधानमन्त्रीले नयाँ योजनाहरुमा सम्झौता भन्दा पनि यसअघि सम्झौता भएका पुराना र अधुरा रहेका योजनाहरुलाई अघि बढाउन जोड दिने उद्धेश्य रहेकोले सोही अनुसार गृहकार्य थालिएको हो ।
यसअघि भारतसँग सडक तथा पूर्वाधार निमार्णबारे सम्झौता गरिएका आयोजनाहरुको अवस्था र प्रगति विवरण भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार पारिहेको छ भने सम्झौता भएका जलविद्युत आयोजनाहरुको अवस्था प्रगतिबारे उर्जा मन्त्रालयले काम गरिरहेको छ ।
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा उठाउने विषयबस्तुका बारेमा सम्बन्धित मन्त्रालयले भ्रमणका क्रममा उठाउनुपर्ने प्राथमिकताका क्षेत्र, यसअघि भएका सम्झौताको अहिलेको अवस्थाबारे प्रारम्भिक रिर्पोट बनाएर परराष्ट्र मन्त्रालयलाई दिने र त्यस पछि प्रधानमन्त्रीको एजेण्डा निर्माण हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. ऋषी अधिकारीले जानकारी दिए ।
यता प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने टोली निमार्णका लागि पनि गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्रालयका अधिकारीहरु, उद्योगी व्यापारी र सञ्चारकर्मीको टोली जाने छ ।
भ्रमणका क्रममा नेपालले प्रस्तुत गर्ने एजेन्डा तय भईनसके पनि भारतीय पक्षले भने नेपालका लागि सहयोग पु¥याउने बिषय भने निश्चित गरेको छ ।
यि हुन सक्नेछन् भारतको प्रस्ताव
भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपालका गर्ने सहयोगबारे लगभग पक्कापक्की गरेको छ । भारतले लुम्बिनी तथा पशुपति नाथको मन्दिर आसपासमा भौतिक सुधारका साथै केही विकास निमार्णका काममा सहयोग गर्ने निश्चित भएको हो ।
–गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा रातीको समयमा सबैतिर प्रकाश पुग्ने गरी बक्तिको ब्यवस्था गर्ने ।
–लुम्बिनीमा सभाहलको निमार्ण गर्ने ।
–अधुरो रहेको हुलाकी राजमार्गको काम अघि बढाउने ।
–नेपाल भारतको प्रमुख ब्यापारिक नाका झापा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज लगायतका स्थानसम्म रेलमार्ग जोड्ने ।
–प्रहरी तालिम केन्द्रको स्थापनामा सहयोग गर्ने ।
–पशुपतिनाथको मुख्य मन्दिर बाहेक पशुपति क्षेत्रको पुनर्निमार्ण र संरक्षणमा सहयोग गर्ने ।
–माथिल्लो कर्णाली र माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको काम अगाडि बढाउने बारे पुनरावलोकन गर्ने ।
–हुलाकी रोडको दोश्रो चरणको काम अघि बढाउने ।
–तल्लो अरुण ४ सय मेगावाटको जलविद्युत आयोजना शूरु गर्ने ।
दुई देशबिच नयाँ विकास सम्झौता गर्ने भन्दा पनि यसअघिको ‘चिसो भएको सम्बन्धलाई न्यानो बनाउने’ मा भ्रमण बढी केन्द्रीत हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. ऋषी अधिकारीको भनाई छ । उनका अनुसार आइतबार सम्म नेपालका तर्फबाट प्रधानमन्त्रीले प्रस्तुत गर्ने एजेण्डाको टुङ्गो लाग्ने छ ।
यसैबिच, भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड असोज ३ देखि १२ गतेसम्म संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूर्योक जाने निश्चित भएको छ । प्रधानमन्त्रीको न्यूर्योक यात्राका लागि पनि गृहकार्य भइरहेको परराष्ट्रले जनाएको छ ।






