अन्तरवस्तुमा सहमति निकाल्न छलफल

संविधानका विवादित मुख्य चार अन्तरवस्तुमा सहमति निकाल्न  प्रधानमन्त्री सुशील कोइरालासहित सत्तासाझेदार दल र एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको ३० दलीय मोर्चाको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । संविधानका विवादित राज्यको पुनः संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सोमबार मोर्चाले अघि सारेका साझा प्रस्तावमा बैठकमा छलफल भइराखेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
विगतमा दलहरूबीच भएको १२ बुँदे समझदारीदेखि माओवादी सशस्त्र युद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनका आधारमा भन्दै मोर्चाले १० प्रदेशको खाका प्रस्तुत अघि सारेको थियो ।
नेका, नेकपा (एमाले) सहित सत्ता साझेदार दलले भने मोर्चाको सो प्रस्तावमा असहमति जनाइसकेका छन् । ती दलहरूले आफूहरूले संवैधानिक राजनीतिक समितिमा प्रस्तुत गरेको नौँबुँदा भित्रबाट नै सहमति खोज्न जोड दिइराखेका छन् ।
सभामुख सुवास नेम्वाङले दलहरूलाई संविधानका विवादित अन्तरवस्तुमा सहमति निकाल्न दिनुभएको समय सीमा सोमबार नै समाप्त भइसकेको छ । विवादित अन्तरवस्तुका विषयमा सहमति निकाल्न भन्दै दलहरू निरन्तर रूपमा वार्तामा जुटिरहेका छन् तर सहमति भने निस्कन सकेको छैन । बैठकमा प्रधानमन्त्री कोइरालाले माघ ८ नै सहमतिद्वारा संविधान जारी गर्न आफ्नो पार्टी लचकताका साथ प्रस्तुत भइराखेको बताउनुभएको नेकाका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।