काठमाडौं–नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले दाल, चामल लगायतका दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशत सहुलियत दिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
नेकपा माओवादीका नेताहरुले मंगलबार अपरान्ह प्रधानन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर दाल, चामल, तेल, चिनी, पिठो, दुध, तरकारी, फलफुल, मासु र मसलाको मुल्यमा ५० प्रतिशत सहुलियत दिन माग गरेका हुन् ।
१० बुँदे ज्ञापनपत्र बुझाउन सन्तोष बुढामगर, धर्मेन्द्र बाँस्तोला लगायतका नेताहरु प्रधानमन्त्री कार्यालय पुगेका थिए । नेता बाँस्तोलाले ५० प्रतिशत मूल्य घटाइनुपर्ने मागसहितको ज्ञापनपत्र पढिरहँदा प्रधानमन्त्री दाहाल मुसुमुसु हासिरहेका थिए ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री दाहालले आमजनतालाई महङ्गी र कालोबजारीबाट छुटकारा दिलाउन आफूले बजार अनुमगन सुरु गराएको भन्दै बजार अनुगमनको सकारात्मक असर देखिएको बताए ।
उनले आम जनताका माग समावेश ज्ञापनपत्रले आफूलाई काम गर्न सहयोग पुग्ने भन्दै ज्ञापनपत्र बुझाएकामा माओवादीका नेताहरुलाई धन्यवाद दिए ।
ज्ञापनपत्रमा किसानका सबै उत्पादन राज्यले खरिद् गरी सिधै उपभोक्तासम्म पु¥याउने व्यवस्था गर्न, त्रिचौलियाको रुपमा काम गर्न वाध्य भएका युवाहरुलाई रोजगारीको व्यवस्था गर्न, माथिल्लो कर्णाली र अरुण तेस्रोको पीडीए खारेज गर्न माग गरिएको छ ।






