काठमाडौं–नेकपा एमालेका नेता लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमात्रै संशोधन गर्ने बताएका छन् । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा पण्डितले गैरसंवैधानिक बाटोबाट संविधान संशोधन हुन नसक्ने बताए ।
उनले भने भने,‘संविधान ढुङ्गाको शिलालेखजस्तो होइन, तर संवैधानिक व्यवस्था अनुसार नै संशोधन हुन्छ, गैरसंवैधानिक बाटोबाट संविधान संशोधन हुन सक्दैन ।’
उनले विगतमा संविधानसभाको चुनाव हुन दिन्नौं भन्नेहरुपनि प्रशस्तै रहेको तर अहिले आएर तीनीहरु हराएको उल्लेख गर्दै भने,‘अहिले आएर संविधान समाप्त गर्छु भन्नेहरुपनि ठाउँठाउँमा छन्, यो संविधानले देशलाई विभाजित गर्ने होईन, एकिकृत गर्ने हो ।’
कतिपय मित्रहरुले मधेशलाई अलग राष्ट्र बनाई छोड्ने कुरा गरेको उल्लेख गर्दै पण्डितले भने,‘अलग राष्ट्र बनाउँछु भन्नेहरु अहिले संविधान संशोधनको कुरा गर्दै छन् ।’ संविधान जारी गर्ने नेताहरुले खुट्टा कमाउने र नाङ्गै हिड्न थाले भोलि के हुन्छ भन्दै उनले प्रश्न गरे ।
पण्डितले छिमेकीले जे भन्यो त्यही नै जस्तातस्तै संशोधन गर्न नसिकने बताउँदै भने,‘उसले जे भन्यो र जस्तातस्तै गर्ने हो, आज छिमेकीले भन्दैछ कि मधेश शान्त चाहियो भनेर, अनि छिमेकीले भन्नेछ कि अलग मधेश, स्वतन्त्र मधेश, लटपटाउनेछ, भोलि भन्नेछ कि स्वतन्त्र मधेश नै मेरो मान्यता हो भन्यो र संविधान संशोधन गर्ने कुरा गरियो भने भोलि नेपालको सार्वभौमिकता के हुन्छ ?, स्वतन्त्रतातर्फ सोचौं, नेपाली भएर सोचौं ।’
उनले संविधान संशोधन गर्नै नुहने भन्ने पक्षमा एमाले नभएर तर अहिले वेला नभएको भन्ने आफूहरुको भनाई रहेको दाबी गरे ।
माओवादी केन्द्रका नेता मणि थापाले आफ्नो पार्टी नेतृत्वको सरकार संविधान संशोधन गर्दै संविधान कार्यान्वयन गर्ने कुरामा जुटेको बताए ।
उनले एमालेले संविधान संशोधनमा सहयोग गरेन भने ईतिहासको आवश्यकत्ता राम्रोसँग नबुझेको अर्थ लाग्ने संविधान संशोधनमा एमालेले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।
मधेशी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधानका ८३ वटा बुँदामा आफूहरुको असन्तुष्टि रहेको भन्दै तत्काल संशोधन गर्नुपर्ने माग गरे ।






