नेता र कालाकारबीच मैत्रीपूर्ण फुटबल खेल भोलि

काठमाडौँ, २२ जेठ । भूकम्पपीडितको सहयोगका लागि भोलि शीर्ष नेता र कलाकारबीच मैत्रीपूर्ण फुटलब खेल हुँदैछ । नयाँ पत्रिका दैनिकको आयोजनामा हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भोलि शनिबार सञ्चालन हुने उक्त खेलको उद्घाटन राष्ट्रपति रामवरण यादवले गर्नुहुने आयोजक नयाँ पत्रिकाका नायब महाप्रबन्धक सुसन खतिवडाले जानकारी दिनुभयो ।
प्रतियोगितामा शीर्ष नेताको टोलीमा उपराष्ट्रपति परमान्द झा, प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ ।
त्यसैगरी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, काँग्रेस केन्द्रीय सदस्य एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाललगायतका शीर्ष नेताले भाग लिनुहुनेछ ।
त्यस्तै कलाकारको टोलीमा मदनकृष्ण श्रेष्ठ, हरिकृष्ण आचार्य, शिव श्रेष्ठ, दिलीप रायमाझी, युवराज लामा, सीताराम कटेल (धुर्मुस), सुनिल थापा, मनोज गजुरेललगातयका कलाकारले प्रतिस्पर्धा गर्नुहुनेछ । खेल भोलि दिउँसो २ः३० बजे सञ्चालन हुनेछ ।