एकाबिहानै त्रिशुलीमा ट्रक खस्दा दुईजनाको मृत्यु

चितवन- काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक मंगलबार बिहान ३:४५ बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना३ख ९९०३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् । दुवै घाइतेको उपचार कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ ।