गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरियोः रावल

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपालीले जारी गरेको संविधानकाविरुद्ध असन्तुष्ट शक्तिले मुलुकको स्वतन्त्रतामाथि गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरी नयाँ सरकार स्थापना गरेको बताएका छन् ।

युवा सङ्घ नेपालले नवनियुक्त युवा फाँट इन्चार्ज महेन्द्रबहादुर पाण्डेलाई स्वागत तथा निवर्तमान इन्चार्ज शेरधन राईलाई बिदाइ गर्न आयोजित कार्यक्रममा उनले मुलुकमा विद्यमान अस्थिरता तथा विकृतिलाई रोकेर देशको स्वतन्त्रताको रक्षाका लागि युवा समुदायले भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।

नेता रावलले संविधान कार्यान्वयनका लागि चैतभित्र स्थानीय तहको निर्वाचन गर्न आग्रह गर्दै मधेसी मोर्चाको सहयोगमा निर्माण भएको वर्तमान सरकारकातर्फबाट प्रधानमन्त्री तथा काँग्रेसका सभापतिले मोर्चाले आगामी असोज ३ गते मनाउन लागेको कालो दिवसकाबारेमा धारणा सार्वजनिक गर्नुपर्ने विचार व्यक्त गरे ।

निवर्तमान इन्चार्ज राईले मुलुकमा आर्थिक विकास र समृद्धिको एजेन्डालाई हासिल गर्न प्रमुख संवाहकका रुपमा युवा सङ्घलाई गतिशीलता बढाउन सुझाव दिए । नवनियुक्त फाँट इन्चार्ज पाण्डेले देश विकासमा युवा वर्गको नेतृत्वको खाँचो रहेको औँल्याए ।