बन्दले धराशायी मधेसका व्यवसायीको प्रश्न- हामीले के पायौं ?

काठमाडौं–मधेसी जनताको माग संविधानमा सम्बोधन नभएको भन्दै मधेसवादी दलहरुको उद्घोषमा ६ महिना लामो बन्द र हड्तालको मार खेपेका जनकपुर क्षेत्रका व्यापारीहरु यो आन्दोलनले के पायौं भन्दै एकअर्कासँग प्रश्न गर्न थालेका छन् ।

आन्दोलनको बेला मधेसवादी दलका नेताहरुले सभा र गोष्ठी गर्दा भाषणका क्रममा आन्दोलन अवधिमा व्यापारीहरुलाई बैंकको ऋणमा लाग्ने ब्याज मिनाहा गराइदिने, घरभाडा लिई व्यापार गरिरहेकाहरुको भाडासमेत माफ गराइदिने आश्वासन दिने गरेका थिए। मधेसी मोर्चाले आन्दोलन काठमाडौं केन्द्रित गरेपछि भने आर्थिक रुपमा धराशायी भएको मधेसलाई पछाडि फर्केर हेर्दै नहेरेको व्यापारीहरुको गुनासो छ ।

आन्दोलनमा सबैभन्दा बढी झडप र होहल्ला हुने जनकपुरको शिवचोकमा सञ्चालिन होटेल वेलकम ६ महिना पूर्णरुपमा बन्द रह्यो । त्यसकारण आफ्नो व्यवसाय वर्षौं पछाडि धकेलिएको सञ्चालक विजय झुनझुनवाला बताउँछन् ।