राष्ट्रपतिले नेम्वाङलाई सोधे-माघ ८ पछि के हुन्छ ?

काठमाडौं ३० पुस, । राष्ट्रपति रामवरण यादवले माघ ८ मा संविधान जारी नहुने हो भने त्यसपछि के हुन्छ ? भन्ने प्रश्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङतिर तेर्स्याएका छन् ।

RAMBARAN-YADAV-AND-SUVAS-NEसभाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिलाई शीतल निवासमै भेटेर दलहरुबीच विषयमा सहमति नभएको र प्रक्रियामा जान पनि सहमति नभएकाले अब माघ ८ मा संविधान नआउने प्रष्ट पारेपछि उनले यस्तो प्रश्न गरेका हुन् ।

सभाध्यक्ष नेम्वाङले भने यो सबैको चिन्ताको विषय भए पनि यसको जवाफ आफूले दिन नसक्ने भन्दै दलहरुलेनै बनाएको नियमावली अनुसार अब आफू अघि बढ्ने जानकारी राष्ट्रपतिलाई दिएका छन् ।

‘मैले राष्ट्रपतिज्यूलाई माघ ८ मा संविधान जारी हुने आधार तयार नभएको र दलहरुबीच सहमतिको साटो झन् ठूलो झगडा देखिएको जानकारी गराएँ,’ भेटपछि नेम्वाङले अनलाइनखबरसँग भने, ‘अब संविधानसभा आफ्नै नियमावली अनुसार अघि बढ्छ भनेर आएको छु ।’

संविधानका विषयवस्तुमा सहमति नगर्ने, प्रक्रियामा जान पनि सहमति नगर्ने र सभाध्यक्षलाई संविधानको मस्यौदा विधेयक पेश गर्न पनि नदिएका कारण अब आफू नियम अनुसार अघि बढ्ने जानकारी नेम्वाङले राष्ट्रपतिलाई गराएका छन् ।

‘अब संवाद समितिको प्रतिवेदनमाथि धेरै लामो छलफल हुदैन, एक दुई दिनमै टुंगिन्छ,’ नेम्वाङले भने, ‘त्यसपछि नियमावली अनुसार अघि बढ्छ ।’ उनले प्रश्नावली समिति बनाएर प्रक्रिया अघि बढाउने संकेत दिएका छन् ।