गुल्मी, ३० पुस– यस वर्ष गुल्मीमा १५ करोड मुल्य बराबरको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष गुल्मीमा सुन्तला उत्पादन १४ प्रतिशतले बृद्धि भएको छ ।
बोट मै भएको र वजारमा उतारिएको सुन्तलाको आंकलन अनुसार यस वर्ष कुल ३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । कृषि विकास कार्यालयका प्राविधिक सहायक सनबहादुर रानाले दिएको विवरण अनुसार हाल सम्म २ हजार ७६ मेट्रिक टन सुन्तला वजारमा विक्रिका लागि उतारिएको छ भने बाँकी ३१ प्रतिशत सुन्तला वोटमैं रहेको छ ।
वजारको न्यृुनतम मुल्य प्रति किलो ५० का दरले ३ हजार मेट्रिक टनको कुल १५ करोड मुुल्य वरावरको सुन्तला गुल्मीमाउत्पादन भएको देखिन्छ । गत वर्ष प्रति किलो ५० कै दरले २५ सय ५६ मेट्रिक टन अर्थात १२ करोड ७८ लाखको सुन्तला गुल्मीमा उत्पादन भएको थियो ।
हालसम्म विक्रिका लागि वजारमा आएको सुन्तलाको विवरण अनुसार अर्लाङकोट गाविसबाट १ सय मेट्रिक टन , अर्वेनीबाट ३५ मेट्रिक टन, जयखानीबाट ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । त्यस्तै दिगामबाट १ सय ६० मेट्रिक टन , हर्दिनेटाबाट ५५ मेट्रिक टन, गौडाकोटबाट ३५ मेट्रिक टन , जुभुङबाट ३५, रेसङ्गा नगरपालिका साविकको अर्खलेबाट १ सय २६ मेट्रिक टन, पिपलधाराबाट २ सय ५५ मेट्रिक टन, हाडहाडेबाट २ सय मेट्रिक टन उत्पादन भएको छ ।
त्यस्तै स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने नयाँगाउँबाट ३ सय ७५ मेट्रिक टन , भनभनेबाट २ सय मेट्रिक टन, धुर्कोट रजस्थलबाट १ सय मेट्रिक टन, वस्तुबाट १ सय मेट्रिक टन, पुर्कोटदहबाट ३० मेट्रिक टन, अन्य गाविसबाट २ सय २५ मेट्रिक टन सहित कुल २ हजार ७६ मेट्रिक टन सुन्तला वजारमा झारिएको छ ।
विगतका वर्षहरुको तुलनामा गुल्मीमा सुन्तला उत्पादनमा बृद्धि हुनुको कारणबारे जिज्ञाष राख्दा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बगैंचा सुधार कार्यक्रमले यस्तो प्रगति भएको बताए ।
यस वर्ष सुन्तला उत्पादन बृद्धि हुनुमा यस कार्यालय र कृषि सहकारी संस्था, कृषक समुहबाट बगैंचा सुधार कार्यक्रम सञ्चालन गरेर हो ’–उनले भने–‘ यस सुधार कार्यक्रम अन्तरगत विरुवामा वोर्डे पोष्ट, मिक्चर तथा विरुवा काँटछाट गरिएको र यस वर्ष पतेरोको प्रकोप कम समेत गरिएको छ । ’







