काठमाडौँ- काठमाडौंबाट दोलालघाटको मादनकुदारीतर्फ जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस काभ्रेको बिर्तादेउरालीस्थित खहरेखोलामा सोमबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ३३ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा अधिकृत चिरञ्जीवी नेपालका अनुसार ३३ जनाको मृत्यु भएको हो । उनका अनुसार २८ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । तीमध्ये १५ जनाको ट्रमा सेन्टर र १३ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
शवहरु भिरमा छरिएको र संकलन गर्ने काम भइरहेको एसपी राजेशनाथ बास्तोलले बताए ।
धुलिखेलबाट ५० किमी टाढा पर्ने खहरेखोलामा सडकबाट एकसय ५० मिटर मुनि खसेको थियो । ठुलो मानवीय क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख राजेशनाथ बास्तोला घटनास्थल गएका छन् । बसमा ८० जना जति थिए ।






